प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ आज


 


काठमाडौँ, पुस ७
प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूको आज शपथ ग्रहण गर्दै छन् । बानेस्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले दिउँसो १ बजे सांसदहरूलाई शपथ गराउने संसद् सचिवालयले जनाएको छ ।

ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सांसदहरूलाई शपथ गराउने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।

उनका अनुसार सांसदहरूले मातृ भाषामा समेत शपथ ग्रहण गर्न पाउने छन् । तर त्यसका लागि पूर्ण सूचना दिनुपर्ने उनले बताए ।‘प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ । आज (बिहीबार) १ बजे प्रतिनिधि सभाका सम्पूर्ण सदस्यज्यूहरूका लागि शपथग्रहण कार्यक्रम आयोजना गरेका छौँ,’ उनले भने, ‘ज्येष्ठ सदस्यले शपथग्रहण गराउनु हुनेछ । शपथग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरा सहितको पत्र उपलब्ध गराउनेछौँ । शपथग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरूले आफ्नो भाषामा ल्याउनुभएको छ । त्यसलाई पनि हामीले समावेश गर्नेछौँ । मान्यज्युहरूले आफ्नो मातृ भाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ ।’

२०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्