गगन थापाको अपील – पार्टीको भविष्य सम्झेर संसदीय दलको नेतामा मलाई मतदान गर्नुहोला


 


काठमाडौं, पुस ६
नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवार बनेका महामन्त्री गगनकुमार थापाले आफूलाई मतदान गर्न कांग्रेसका सांसदहरुलाई आह्वान गरेका छन् ।

निर्वाचनअघि उम्मेदवार थापाले सामाजिक सञ्जालमार्फत कांग्रेसका नेता तथा सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अनुरोध गरेका हुन् । केहीबेरबाट दलको नेता चयनका लागि निर्वाचन हुँदैछ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र थापा प्रतिस्पर्धामा छन्।

उनले भनेका छन्, ‘आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ । भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु।’

यस्तो छ थापाको अपिल

आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ । भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु ।

बर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु। सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु ।

तीन-तीन वटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ । मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरुको उच्च सम्मान गर्दै याहाहरुवाट मार्गनिर्देनको अपेक्षा गर्दछु ्र पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।

धन्यवाद
जय नेपाल
गगन थापा
उम्मेदवार, संसदीय दलको नेता
नेपाली कांग्रेस

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्