‘कबड्डी’ र ‘दुई नम्बरी’ हिट भएपछि दयाले ५० प्रतिशतले बढाए आफ्नो पारिश्रमिक


 


काठमाडौँ, पुस ४
तुलनात्मक रुपमा यो साल हिटको पगरी गुथ्न सफल फिल्मको संख्या धेरै छ । वर्षको ६ महिना बित्दा अहिलेसम्म ६ वटै फिल्मले बक्स अफिसबाट लगानी उठाएका छन् । यसमा दयाहाङ राई अभीनित दुई फिल्म छन्, ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ ।

यही साल प्रदर्शन भएको दयाको फिल्म ‘के घर के डेरा’ले पनि बक्स अफिसमा औसत व्यापार गरेको थियो । यस हिसाबले यो सालका दयाका तीनै फिल्मले राम्रो व्यापार गरेका छन् । दयाले आफू अभीनित फिल्म चलेको मौका छोपेर आफ्नो पारिश्रमिक ५० प्रतिशतले बढाएका हुन् ।

दयाहाङले यसअघि एउटा फिल्म खेलेको २० लाख रुपैँया लिने गरेका थिए । तर उनले नयाँ निर्मातालाई ३० लाखको थैलीसहित सम्झौतापत्र लिएर आउन आग्रह गर्ने गरेका छन् । सूत्रका अनुसार उनले भर्खरै सम्झौता गरेको ‘हात्तिछाप’बाट यसको सुरुवात गरेका हुन् । ‘दुई नम्बरी’ निर्माताले बनाउन लागेको यो फिल्मका लागि निर्माता किरण नेपालीले ३० लाख तिरेको स्रोतको दाबी छ ।

सानोतिनो भूमिका हुँदै ‘लुट’बाट स्थापित दयाहाङ राईको स्टारडम यात्रा ‘कबड्डी’बाट सुरु भएको थियो । त्यसयता उनी चकलेटी प्रेमकथाबाहेकका फिल्मका भरपर्दा अनुहार रहँदै आएका छन् । डायस्पोरामा पनि दयाका फिल्मले राम्रो पैसा पाउने गरेका छन् । यही कारण पनि निर्माताले दयाले मागेजति पारिश्रमिक दिने गरेका छन् ।

प्रकाशित मिति: ४ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्