माधव नेपालले भने – सरकार गठनमा ढिलाई हुनसक्छ


 


काठमाडौं, मंसिर २९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने बताएका छन् ।

नेपाली कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएको भन्दो नेता नेपालले यस्तो बताएका हुन् ।

नेता नेपालले भने ‘निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको ढोका खुल्छ । त्यसपछि सरकार गठनका लागि दलहरुले पनि केही प्रक्रिया पुरा गर्नुपर्छ, त्यो प्रक्रिया पुरा गरेर सत्ता गठबन्धन सरकार गठन गर्नलाग्छ ।’

उनले अहिलेसम्म सत्ता गठबन्धनबीच पावर सेयरिङबारे कुनै छलफल नभएको पनि बताए । उनले सत्ता गठबनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएकाले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने पनि बताए ।

नेता नेपालले भने, ‘कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएका छन् । यस्तोमा कांग्रेसभित्रै पनि केही वर्कआउट गर्नुपर्ने हुनसक्छ, जसले नयाँ सरकार गठनमा विलम्ब हुन्छ कि भन्ने चासो पनि बढेको छ । तर हामी छिट्टै गठबन्धनमा सहमति कायम गरेर अघि बढ्ने प्रयासमा छौ ।’

पावर सेयरिङमा आफ्नो पार्टीले सम्मानजनक हैसियत खोज्नु स्वाभाविक रहेको अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए ।

प्रकाशित मिति: २९ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्