सत्तापक्षले गरेको धाँधलीलाई आयोगले वैधता दिएको शंकर पोखरेलको आरोप


 


काठमाडौं, मंसिर १५
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधली गरेको आरोप लगाएका छन् ।

उनले स्याङ्जा र बाजुरामा स्थगित भएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिएकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।

उनले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाए । स्याङ्जा र बाजुरमा एमालेले पुनः मतदान गर्न माग गरेको थियो । तर आयोगको बुधबार बसेको बैठकले मतगणना अघि बढाउने निर्देशन दिएको थियो ।

पोखरेलले फेसबुकमार्फत असन्तुष्टि पोख्दै भनेका छन्,‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ आयोगको निर्देशनपछि स्याङ्जामा हिजैदेखि मतगणना सुरु भएको छ।

बाजुरामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपरान्ह सर्वदलीय बैठक बोलाएको थियो । तर, एमाले प्रतिनिधि उपस्थित नभएपछि बैठक निष्कर्षविहीन भएको थियो । आज पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्