याे निक्कै दर्दनाक हार हाे : क्लिन्टन


 


काठमाडाैं, कार्तिक २५

अमेरिकी राष्ट्रपतिमा पराजित डेमोक्रेट पार्टीकी उमेदवार हिलारी क्लिन्टनले हार स्वीकार गर्दै पहिलोपटक जनतालाई सम्बोधन गरेकी छन् । उनले नवनिर्वाचित राष्ट्रपति ‘डोनाल्ड ट्रम्पलाई देशको सेवा गर्न एक मौका दिनुपर्ने’ बताएकी छन् ।

बीबीसीका अनुसार हिलारीले आफ्ना समर्थकहरुसँग माफी माग्दै आफ्नो हारलाई निक्कै दर्दनाक भनेकी छन् । उनले यसलाई धेरै दिन सम्म भुल्न नसक्ने बताएकी छन् ।

न्यूयोर्कको एक होटलमा आयोजित उक्त सम्बोधनका क्रममा उनका पति पूर्व राष्ट्रपति बिल क्लिन्टन र छोरी चेल्सी क्लिन्टन पनि सँगै थिए । आफ्ना समर्थकलाई यो राष्ट्रपति चुनावी परिणाम खुला दिलबाट स्वीकार गर्न आग्रह पनि गरिन् ।

उनले ट्रम्पलाई खुला दिमाग र मनले राष्ट्रको नेतृत्व गर्ने मौका दिनुपर्ने बताइन् । क्लिन्टनले हार दर्दनाक भएको भन्दै उनको यो सबै कोशिस उनले माया गर्ने देशको लागि गरेको बताएकी थिइन ।

“मैले देशका लागि जस्तो मुल्य मान्यता र धारणा बनाएकी थिएँ, त्यसैमा आधारित भएर चुनाव लडेँ । तर सफलता पाउन सकिनँ । त्यसका लागि माफी माग्न चाहन्छु,” उनले भनिन् ।

चुनाव अभियानका क्रममा आफूले आशा गरेजस्तो अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न नसकेकोमा खेद ब्यक्त गर्दै हिलारीले भनिन्, “तर मलाई विश्वास छ एक न एक दिन कोही योे अवरोध तोड्न सफल हुनेछ ।”

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्