‘नो नट अगेन’ अभियानको समर्थनमा डा. केसी


 


काठमाडाैं, कार्तिक ११
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ‘नो नट अगेन अभियान’को समर्थन गर्नुभएको छ । हिजो एक विज्ञप्तिमार्फत डा. केसीले नेतृत्वदायी पदमा बसेर देशलाई ‘कूशासनको दुष्चक्रमा फसाएका खलपात्रहरू’लाई निर्वाचनबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।

उहाँले निर्वाचन आयोगले निकालेको विज्ञप्तिको समेत विरोध गर्नुभएको छ । दलका शिर्ष नेताहरुविरुद्ध सामाजिक संजालमा फैलिएको ‘नो–नट अगेन’ नामको अभियान बन्द गर्न निर्वाचन आयोगलदे उर्दी जारी गरेको थियो ।

डा. केसीले जारी गर्नुभएको विज्ञप्तीमा यो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नका लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति गम्भीर खेद प्रकट गरिएको छ ।

वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षाैंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरेको डा केसीको आरोप छ । आयोग आमनागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत रहेको पनि उहाँको आरोप छ ।

केसीले आत्मालोचनासहित विज्ञप्ति तत्काल फिर्ता लिन पनि निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको अधिकार रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रूपमा अवज्ञा हुने चेतावनीसमेत डा केसीले दिनुभएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्