समानुपातिक बन्दसूचीबाट ३८५ जनाको नाम हटाउने आयोगको तयारी


 


काठमाडौं, कार्तिक ६
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण शनिबारसम्म नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो । तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् ।

वाग्लेले हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने जानकारी दिए । पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिबाना गरेको थियो ।

त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए । जसमध्ये यो अवधिमा ५४ जनाले मात्रै जरिबाना बुझाएको बताइएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्