‘निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन’


 


रुपन्देही, असाेज २८
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् ।

बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकीर गरे ।

उपाध्यक्ष पौडेलले भने, ‘नेकपा एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छौँ ।

कमरेड केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढनुको कुनै विकल्प हामीसँग छैन ।’ उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उपाध्यक्ष पौडेलले निर्वाचनमा उम्मेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुन सक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्