उम्मेदवार छनोटमा देउवापक्षले एकलौटी गरेको भन्दै पार्टी कार्यालयमा धर्ना दिंदै शेखर समूह
काठमाडौं, असाेज १२
नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि जनाएको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिने भएको छ ।
गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।
शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ । तर यता मंगलबार बालुवाटारमा सभापति शेरबहादुर देउवाले सबैसँग छलफल गरी समानुपातिक उम्मेदवार सूची हेरफेर गरेर जान सकिने बताएका छन् ।
सभापति देउवासहित कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेबारे आज पनि छलफल गर्ने तयारीमा छन्।
प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार