सभामुख र उपसभामुखको कार्यकाल कहिलेसम्म ?


 


काठमाडौं, असाेज ४
निर्वाचन आयोगले आइतबारबाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची मनोनयन प्रक्रिया थालेको छ । आयोगले मनोनयन गर्नुलाई उम्मेदवारको नाम पेस गर्नु भनेको छ । राजनीतिक दलले पनि आइतबार र सोमबार समानुपातिक बन्दसूचीमा परेकाको नाम आयोगमा दर्ता गराइसकेका छन्।

आयोगमा मनोनयन हुने दिनलाई हेर्ने हो भने सभामुखको ‘पद के हुन्छ ?’ भन्ने प्रश्न उठेको छ । तर, संविधानविद्ले भने सभामुख अग्निप्रसाद सापकोटा उम्मेदवार मनोनयन नगरेसम्म रहने बताउँछन् । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य ‘सभामुखको पद निर्वाचनका लागि उम्मेदवार मनोनयन नगरे’सम्म रहने बताउँछन् ।

‘हाल संसद्को अधिवेशन अन्त्य भएको मात्रै हो, विघटन भएको होइन,’ उनले भने, ‘सभामुख र उपसभामुखले उम्मेदवारमा मनोनयन नगरे आउँदो ९ मंसिरसम्म कार्यकाल रहन्छ ।’ अहिले पनि संसद् सचिवालय रहेकाले उनको कार्यकाल उम्मेदवार मनोनय नगर्दासम्म रहने आचार्यको भनाइ छ । संविधानको धारा ९१ र २९६ ले पनि पदावधि बारे केही बोलेको छ । धारा ९१ को उपधारा ६ (क) मा प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिनेभन्दा अघिल्लो दिनसम्म पद रहने उल्लेख छ ।

संविधानको धारा ९१ को उपधारा ६ मा ‘देहायको कुनै अवस्थामा प्रतिनिधिसभा सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ, (क) निज प्रतिनिधिसभाको सदस्य नरहेमा, तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्’ भनिएको छ ।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली सभामुख र उपसभामुख पद संसद् अधिवेशन अन्त्य हुँदैमा ‘नजाने’ बताउँछन् । उनका अनुसार संसद् विघटन नभएको अवस्थामा अहिलेको सरकार पनि कामचलाउ नभएर पूर्ण कार्यकालको हो । राजधानी दैनिकबाट

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्