खानेपानीमन्त्री चौधरीको मनोमानी, संस्थानमा आफूनिकटका ४६ जना भर्ना गर्ने तयारी


 


काठमाडौं, भाद्र ३१
खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् ।

मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा बोर्ड सदस्य निरकुमारी कुँवर दर्लामीलाई पदपूर्ति संयोजक पदबाट हटाइएको छ । उनलाई हटाएपछि पदपूर्ति समितिले एकतर्फी रूपमा प्रक्रिया थाल्ने तयारी गरिएको बताइएको छ ।

कर्मचारी भर्नामा असहमति राखेपछि बोर्ड सदस्य एवं पदपूर्ति समिति संयोजकबाट दर्लामीलाई हटाएर उनको स्थानमा मन्त्रालयबाटै आफूनिकट सहसचिव तिरेशकुमार खत्रीलाई संयोजकका रूपमा लगेका छन् ।

खानेपानी संस्थानमा भएका अनियमितता र बद्मासी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि केही समयअघि उजुरी परेको थियो । अख्तियारले त्यसको छानबिन गर्न संस्थान नेतृत्वलाई लिखित पत्राचार गरे पनि अध्यक्ष गुणाखर भुसालले अख्तियारको निर्देशनको बेवास्ता गरेका छन् ।

भुसाल अहिले आफैं मन्त्रीको निर्देशनअनुसार ‘गलत कार्यमा संलग्न रहेकाले अख्तियारको निर्देशन बेवास्ता गरेको’ संस्थानका कर्मचारीको दाबी छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्