रामचन्द्र पौडेल भन्छन्- गठबन्धन कर र डर दुवै हो
चितवन, साउन २९
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए ।
‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्,’ उनले भने, ‘यसैले गठबन्धन कर पनि हो डर पनि हो ।’ अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो ।
एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए ।
को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो । उनले भने, ‘तलको जनमत हेरेर निर्णय लिन्छौँ,’ उनले भने, ‘कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।’
‘आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो ?’ भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।’कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए । रासस
प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार