माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाँदै


 


काठमाडौं, असार ३१
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।

रतमा रहँदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता गर्नेछन् । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच पनि भेटवार्ता तय भएको छ । यस्तै, भारतका विदेश मन्त्री डा। एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भने अहिले निश्चित भइसकेको छैन । त्यस्तै, दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ । प्रचण्ड दिउँसो १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्