छठ पर्व समापन


 


chhaatकाठमाडौं, कात्तिक २२

तराई क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज समापन भएको छ । उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिएको छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराइका विभिन्न जिल्लामा भक्तजनहरु रातभर नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिइयो । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि कमलपोखरी पुगेर छठ पूजामा सहभागी भइन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि छठ पूजाका लागि कमलपोखरी पुगेका थिए ।

उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लाग्यो ।

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरे । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रह्यो ।

झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका छन् ।

सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईयो ।

कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आएका थिए ।

आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।

त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्