बाबुराम रणनीति : जसपा फुटाएर लोसपासँग एकीकरण


 


काठमाडौं, असार २८
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो ।

भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् ।

भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको स्रोतले जनाएको छ । उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् ।

मंगलबार र बुधबार (२८, २९ असार) मा भट्टराई समूहको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा बस्दै छ । सोही बैठकबाट नयाँ पार्टीको घोषणा गरिनेछ । उता, उपेन्द्र समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार र बिहीबार (२९, ३० असार) मा वीरगन्जमा बस्दै छ ।

बाबुराम र उपेन्द्र समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजन भएको हो । बाबुराम समूहले केन्द्रीय समिति बैठकको एजेन्डासमेत तय गरेको छ । बैठकमा संघीय परिषद् अध्यक्ष बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्