फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा


 


काठमाडौं, जेठ २५
कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगर यी दुईवटा निकायले मात्रै चाहेर सम्भव छैन,’ उनले भने, ‘ कतिपय स्रोत साधान, कानुन नियमको गाँठो फुकाउन सम्माननिय प्रधानमन्त्रीलेनै पहलकदमी लिनुपर्ने छ । यसका लागि म प्रधानमन्त्री ज्यूलाई विशेष पहल कदमी लिन आग्रह गर्दछु ।’

फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले मात्रै गर्न नसक्ने भन्दै उनले नगरवासीलाई पनि स्रोतबाटै फोहोर छुट्याउन पनि आग्रह गरे । ‘सरकारले कर्तव्य पुरा गरेसँगै हामी नगरवासीले पनि केही कामहरू गर्नुपर्ने छ,’ उनले भने, ‘यसको लागि श्रावण १ बाटै स्रोतबाटै कुहिन र नकुहिने फोहोर छुट्याउनको लागि काठमाडौं महानगरपालिकाले अपिल गरेको छ । काठमाडौँ महानगरवासी भएकाले र यो क्षेत्रको संसद भएको नाताले फोहोर मुक्त काठमाडौं बनाउने अभियानमा सम्पुर्ण महानगरवासीले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु ।

सांसद थापाले वडाहरू जनप्रतिनिधिलाई पनि काममा सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति: २५ जेष्ठ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्