मन्त्रिमण्डल हेरफेर हुँदै, समाजवादीका नयाँ मन्त्रीको शपथ आज


 


काठमाडौं, जेठ २३
नेकपा एकीकृत समाजवादीले सिफारिस गरेको नयाँ मन्त्रीहरूलाई सोमबार सपथ ग्रहण गराइने भएको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँलाई सिफारिस गरेको हो ।

एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेको स्थानमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठको स्थानमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको स्थानमा हीराचन्द्र केसीलाई सिफारिस गरेको हो ।

नयाँ मन्त्रीहरूको नामावली आइतबार नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरूलाई नियुक्ति गर्ने छन् ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार दिउँसो शपथ हुने तयारी गरिएको छ । सोमबार दिउँसो शपथका लागि तयारी अवस्थामा बस्न उनीहरूलाई बालुवाटारबाट खबर गरिएको हो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्