ओलीले भने – गणतन्त्रलाई जनअनुभूतिबाटै प्रमाणित गराउन एमाले तत्पर छ


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

यस ऐतिहासिक दिनले मुलुकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रूपान्तरण गरेको भन्दै उनले समृद्धिका पाइलाहरूमार्फत मुलुकलाई थप उचाइमा पुराउनु पर्ने बताएका हुन् ।

आजको दिनलाई मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ताको स्रोत नेपाली जनतामा निहित रहने ऐतिहासिक उपलब्धि भएको दिन भएको स्मरण गर्दै अध्यक्ष ओलीले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अग्रसर गराउनु आजको मूलभूत दायित्व भएको सन्देशमा उल्लेख गरे ।

अहिले संविधानले परिभाषित गरेका राज्यका अङ्गहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या र अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको भन्दै ओलीले त्यसतर्फ सबै नेपाली सचेत रहन आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

आज मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेको उल्लेख गर्दै उनले केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ता शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहनले लिएको बताए ।

नेकपा एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी भएको भन्दै उनले राष्ट्रको यस आकाङ्क्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न आफूहरूले चाहिरहेको उल्लेख गरे ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्