नीति तथा कार्यक्रमप्रति ओलीको टिप्पणी : तेलमा तारेको, चास्नीमा नडुबाएको जेरीजस्तो


 


काठमाडौं, जेठ १३
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्को आलोचना गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घण्टा बोलेका ओलीले नीति तथा कार्यक्रमको चर्को विरोध मात्र गरेनन्, सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको पनि चर्को विरोध गरे ।

नीति तथा कार्यक्रममा प्रशस्त त्रुटि औंल्याएका ओलीले यसलाई तेलमा तारेको, चास्नीमा नडुबाएको जेरीजस्तो भएको टिप्पणी पनि गरे । ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरीजस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’ उनले प्रश्न गरे ।

नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुना रहेको उनले बताए । उनले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाए । ओलीले भने, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ ।

यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्य छन् ।’ नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई म्यादी सरकार भएको आरोप पनि लगाए ।

अहिलेको सरकार अस्थायी र म्यादी भएकाले परराष्ट्र नीतिमा दीर्घकालीन असर पर्ने काम गर्न नहुने ओलीको भनाइ थियो । उनले आफूले हुम्लाको लिमी जाँदा इजाजत लिएको उल्लेख गर्दै अमेरिकी उपविदेशमन्त्री उज्रा जियालाई शरणार्थी शिविरमा जान इजाजत दिनुपर्ने हो कि होइन ? इजाजत दिएको भने किन दिएको भन्ने प्रश्न गरे । राजधानी दैनिकबाट

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्