स्थानीय चुनावमा अपेक्षा गरेअनुसार मतपरिणाम नआएपछि कांग्रेसबाहेक सबै दल असन्तुष्ट


 


काठमाडौं, जेठ १३
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको मतपरिणाम सकारात्मक भएको जनाएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीले कम्तीमा ५१ प्रतिशतभन्दा बढी पालिका जित्ने लक्ष्य राखेपछि अहिलेको नतिजा पनि सकारात्मक भएको बताउँछन् । टिकट वितरण तथा तालमेल गर्दा भएको प्राविधिक त्रुटिका कारण अपेक्षाअनुसार परिणाम आउन नसकेको उनले बताए । यद्यपि आएको मतपरिणामबाट सत्तारूढ गठबन्धन उत्साहित नै भएको टिप्पणी गुरुङको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २ सय ६६ प्रमुख÷अध्यक्ष र २ सय २३ उपप्रमुख÷उपाध्यक्षमा विजयी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट कांग्रेसले ३ सय २७ प्रमुख÷अध्यक्ष विजयी भएको छ भने एकमा अग्रता लिएको छ । यस्तै ३ सय १ उपप्रमुख÷उपाध्यक्ष विजयी भएको कांग्रेसले एकमा अग्रता लिएको छ ।

२०७४ को परिणामभन्दा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको नतिजा खस्केको छ । पहिलो दलबाट दोस्रोमा झरेको एमालेले आएको मतपरिणाममा सन्तुष्ट छैन । एमालेले पार्टीभित्रैको अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा सोचेअनुसार नतिजा ल्याउन नसकेको निष्कर्षमा पुगेको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्