चुनाव आउन अब ६ दिन बाँकी : तयारी तीव्र, प्रदेश र जिल्लामा काम अन्तिम चरणमा


 


२४ वैशाल, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । निर्वाचनका लागि लागि आवश्यक मतपत्र ढुवानीको काम सकिएको आयोगले जनाएको छ ।

चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले मतपत्र छपाइ भएको ठाउँ भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि मतपत्र ढुवानी गरी सुरक्षा प्रबन्धका साथ पठाएको हो ।

सडकमार्ग सहज नभएका जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराएर चाँडै स्थानीय केन्द्रमा ढुवानी गर्ने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले बताए ।

निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् ।

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्