स्थानीय तह निर्वाचन : ६१ जिल्लामा मतपत्र ढुवानी, १६ जिल्लामा पठाउन बाँकी


 


काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ६१ जिल्लामा मतपत्र ढुवानी भएको हो ।

अब १६ जिल्लामा मतपत्र पठाउन बाँकी रहेकोमा केही जिल्लामा आज बिहानै पठाइने छ। मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ।

अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुनः मतपत्र छाप्ने आयोगको तयारी छ। यसैबीच आयोगले काठमाडौं महानगरका लागि पनि मतपत्र छपाइ सकेको छ। तीन लाख मतपत्र छपाइ गरिएको हो।

काठमाडौं महानगरमा ५६ दलले निर्वाचनमा भाग लिने भएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार पनि छन्। आयोगका अनुसार आजदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरको मतपत्र पनि छपाइ हुनेछ। वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्