भारतमा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु


 


काठमाडाैँ, वैशाख १४
भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।

रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ पुगेपछि करेन्ट लागेको थियो। घटनामा परी १५ जना घाइते भएका छन्।

मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

तन्जापुरका आइजी वि बालकृष्णका अनुसार कालीमेडु मन्दिरमा ९४ औं अप्पर गुरूपूजा उत्सव मनाउने क्रममा दुर्घटना भएको हो।

९ फिट अग्लो रथलाई रंगीचंगी फूल र लाइटले सिंगारिएको थियो। रथको लाइटलाई बिजुली दिनका लागि एउटा जेनेरेटर पनि सँगै थियो।

यसैबीच तमिलनाडुका मुख्यमन्त्री एम के स्टालिनले पीडित परिवारलाई जनही ५ लाख सहायता दिने बताएका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्