स्थानीय तह निर्वाचन : मनोनयन दर्ता गर्दा उम्मेदवारले गर्नुपर्नेछ १८ प्रतिबद्धता


 


काठमाडौं, वैशाख ११
स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ ।

स्थानीय तहका विभिन्न पदमा मनोनयन दर्ता गर्ने उम्मेदवारहरूले विभिन्न प्रतिबद्धता पनि व्यक्त गर्नुपर्नेछ ।

निर्वाचन आयोगले उम्मेदवारहरुका लागि १८ प्रकारका प्रतिबद्धता व्यक्त गरेर निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने निर्णय गरेकाे हाे ।

ती प्रतिबद्धता यस्ता छन्-

१. संविधानप्रति निष्ठावान रहेको घोषणा गर्नुपर्नेछ ।

२. २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको घोषणा गर्नुपर्नेछ ।

३. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको घोषणा गर्नुपर्नेछ ।

४. स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको घोणा गर्नुपर्नेछ ।

५. सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्नेछ ।

६. सरकारी कोषबाट कुनै लाभको पद धारण नगरेको घोणा गर्नुपर्नेछ ।

७. कुनै सजाय पाएको भए तोकिएको अवधि पूरा गरेको र कालो सूचीमा नपरेको घोषणा गर्नुपर्नेछ ।

८. मनोनयन पत्र साथ पेस गर्नुपर्ने सबै कागजात पेस गरेको घोषणा गर्नुपर्नेछ ।

९. प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम नरहेको घोषणा गर्नुपर्नेछ ।

१०. मनोनयन पत्र साथ पेस गरेको सम्पत्ति विवरण साँचो रहेको घोषणा गर्नुपर्छ ।

११. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१२. स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको । (तर आफू उम्मेदवार हुने बाहेकका स्थानीय ठेक्कापट्टाको हकमा यो नियम लागू नगर्नू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।)

१३. सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१४. विदेशको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्नेछ ।

१५. न्यायिक वा अर्धन्यायिक निकायको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्नेछ ।

१६. निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

१७. सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको घोणा गर्नुपर्नेछ ।

१८. संविधान, कानुन र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्