स्थानीय तह निर्वाचन : भागबन्डामा कांग्रेसको हात माथि


 


काठमाडौं । सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबन्डा गरेका हुन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउनेगरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबन्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । यसैगरी, जनता समाजवादी पार्टीले वीरगन्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।

यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्