स्थानीय तह निर्वाचन : महानगरमा भागबण्डा, उपमहानगरमा किचलो


 


काठमाडौं, वैशाख ७
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन आबद्ध चार दलबीच ६ महानगरपालिकामा तालमेल सहमति भए पनि उपमहानगरमा किचलो बढेको छ ।

पोखरा महानगरमा नेपाली कांग्रेसले अडान छाडेपछि सत्ताधारी दलबीच ६ महानगरको मेयर पदमा भने मंगलबार दिउँसै भागबण्डा मिलेको थियो ।

ती महानगरमा उपमेयरमासमेत भागबण्डा भइसकेको छ । तर, ११ उपमहानगर मेयर र उपमेयरमा सहमति जुट्न नसकेपछि सत्तारूढ दलले भागबण्डालाई अन्तिम रूप भने दिन सकेनन् । मंगलबार राति १० बजेबाट आज बुधबार बिहान २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेको हो ।

सत्तारूढ दलले बनाएको निर्वाचन अनुगमन तथा परिचालन समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगर विषयमा सहमति भए पनि उपमहानगरमा बन्न नसकेको जानकारी दिए । ‘आज बुधबार ११ बजे पुनः बस्ने गरी बैठक सकियो, महानगरका विषयमा सहमति भए पनि उपमहानगरमा कुरा मिलेन,’ समिति संयोजक पौडेलले भने ।

६ वटै महानगर र ११ उपमहानगरमा गठबन्धन दलबीच तालमेल सहमतिलाई अन्तिम रूप दिन भन्दै रातारात बैठक बसिएको थियो । मंगलबार राति १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफल बुधबार बिहान २ बजे बिनानिश्कर्ष सकिएको हो । राजधानी दैनिकबाट

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्