यस्ताे छ गठबन्धनले बनाएकाे तालमेलका आधार र मापदण्ड


 


काठमाडौं, चैत्र ३०
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागिःसत्तारुढ गठबन्धनले वडादेखि नै तालमेल गर्ने र गठबन्धन बाहिरका दलसँग सहकार्य नगर्ने निर्णय गरेकाे छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्र मात्रै तालमेल गर्ने र अन्य दलहरूसँग सहकार्य नगर्ने निर्णय गरेको हो ।

सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको हाे ।

यस्ताछन्बैठकले चुनावी तालमेलका लागि तय गरेकाे आधार र मापदण्ड

गठबन्धनभित्र सिट बाँडफाँटका आधार:
१. २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने ।
२. २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।
३. २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी ।
४. २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत
५. एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
६. सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
७. गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।

मापदण्ड :
१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने ।
५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।
६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्