सूर्य नेपाल एनपीजीए खेलमा भुवन विजयी
काठमाडाैँ, फागुन २७
सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि भुवन नगरकोटीले जितेका छन्।
३६ होलमा खेलिएको फाइनलमा शीर्ष स्थानको भुवनले चौथो वरियताका सञ्जय लामालाई ३ र २ ले हराएका थिए। सञ्जयले ९ होल पछि २–अप गरेका थिए भने भुवनले १८ होल पछि एकमा घाटा घटाए। भुवनले २७ होलपछि पहिलो पटक १–१ को अग्रता लिएका थिए भने ३० होलपछि तीनको अग्रता बढाए। दुवै गल्फरले अर्को चार होल सेयर गरे र भुवनले दुई होल बाँकी रहँदा विजय पूरा गरे।
भुवनले आफ्नो करियरको आठौँ र सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनमा पहिलो उपाधि जितेका थिए। ट्रफीसँगै भुवनले ५० हजार रुपैयाँ प्राप्त गरे। उपविजेता सञ्जयले ३० हजार रुपैयाँ हात पारे।
पाँचौँ वरियताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई फाइनल होल (टु–अप) मा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका छन्। धनले २२ हजार रुपैयाँ र विकासले १८ हजार रुपैयाँ प्राप्त गरे।
क्वार्टरफाइनलमा पराजित भएका चारजना दिनेश प्रजापति, रामे मगर, जयराम श्रेष्ठ र दीपक मगरले जनही १० हजार रुपैयाँ प्राप्त गरे।
त्यसैगरी पहिलो राउन्डमा हारेका ८ खेलाडी सचिनप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, बल भद्र राई, भुवनकुमार रोक्का, कृष्णमान राजबाहक, रवि खड्का र शिवकुमार माझीले ५–५ हजार रुपैयाँ प्राप्त गरे।
अर्डर अफ मेरिट अफ सूर्य नेपाल गल्फ टुर २०१८–१९ सिजनका शीर्ष १६ व्यावसायिक गल्फरहरु प्रतियोगितामा सहभागी हुन योग्य थिए। दोस्रो वरियताका शिवराम श्रेष्ठ र १४औँ वरियताका दीपक आचार्यले प्रतियोगितामा भाग लिएनन् र एनपीजीएले १७औँ वरियताका शिवकुमार माझी र १८औँ वरियताका सचिन भट्टराईलाई ड्रमा स्थान बनाउन अनुमति दिइएको थियो।
प्रतियोगिताका विजेताहरुलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दिप्रा लाहिरी र आरएनजीसीका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए। सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएले आयोजना गरेको प्रतियोगितामा रु. २ लाख नगद रहेको थियो।
प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार