माओवादी घटकहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान


 


काठमाडौं, फागुन १
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका हुन् ।

२७ औं जनयुद्ध दिवसको सन्दर्भमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।’

अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गरेका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्