भारतका राष्ट्रपति अाउने, नेपालमा कर्फ्यु लाग्ने !


 


काठमाडाैं, कार्तिक १७

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको छ र वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको छ । वैकल्पिक मार्ग प्रयोग गर्न भनेपनि चत्रपथभित्र दिनभर सवारी चल्ने सम्भावना कम छ ।

दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना नरहेको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् । चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिन्छ । कतिसम्म भने मुखर्जीको सवारीका क्रममा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइएकाे छ ।

मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनससहित डिजिटल सम्पर्क विच्छेद हुनेछ ।

सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । तर, तिहार मानेर देशका विभिन्न स्थानाबाट काठमाडौं फर्कनेहरु भने मारमा परेका छन् ।

मुखर्जीकाे भ्रमणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नोटिस फर एयरमेन’ (नोटाम) जारी गरेको छ । विमानस्थलले बुधबार दिउँसो १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म नोटाम जारी गरेको हो ।

यो समयमा कुनै जहाज उड्न र अवतरण गर्न पाउने छैनन् । विमानस्थल पुरै बन्द हुनेछ । भिभिआइपी जहाजमा आउनु २० मिनेट अघिदेखि अवतरण भएको २५ मिनेटसम्म नोटाम जारी गरिएको विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसर (टिडिओ)ले जानकारी दिएका छन् ।

नोटामको समयमा आन्तरिक तथा बाह्य कुनै पनि जहाज उड्न र अवतरण गर्न पाउँदैनन् । एयरपोर्ट बन्द हुन्छ । ‘यो समयमा उडान भर्ने जहाजहरु उड्न पाउने छैनन् भने अवतरण गर्ने जहाजहरु कि त आकाशमै होल्ड हुन्छन् कि नजिकैको विमानस्थलमा डाइभर्ट हुन्छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्