कांग्रेस प्रदेश २ अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
जनकपुरधाम, पौष ८
नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।
प्रकाशित मिति: ८ पुस २०७८, बिहिबार