एमाले महाधिवेशन : कतिबेला सकिन्छ मतदान ?
काठमाडौं, मंसिर १४
नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले मंगलबार बिहानमात्र सुरु भएको हो । विद्युतीय मेसिनबाट मतदान हुँदैछ ।
केन्द्रीय निर्वाचन आयोगकाका अनुसार बिहान ७ः४५ बजेसम्म कूल महाधिवेशन प्रतिनिधिमध्ये आधाले मत खसालिसकेका छन् । साढे १०ः३० बजेभित्र मतदान सम्पन्न हुने आयोगको अनुमान छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।
सोही पदमा ओलीको टिम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार