जेलमै बित्यो शाहरुखका छोराको रात
काठमाडौं, असोज १८
ड्रग्स पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै रात कटाएका छन् ।
नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई अदालतमा पेश गरेको थियो । र, अदालतले उनीहरुलाई एक दिन एनसिबीको हिरासतमा राख्न आदेश दियो ।
आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतिश मानसिन्देले मुद्दा लडिरहेका छन् । मानसिन्देले नै रिया चक्रवर्तीको केस पनि हेरेका थिए । शनिबार मुम्बईस्थित एक क्रुजमा एनसिबीले छापा मार्दा आर्यनसहित १३ जना पक्राउ परेका थिए ।
यस क्रुज जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो । उक्त जहाज मुम्बईबाट गोआतर्फ जाँदै थियो । पार्टीमा सहभागी हुनेहरुले टिकटबापत ८० हजारदेखि २ लाख भारुसम्म तिरेका थिए ।
यद्यपी, आफुले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन् । आर्यनकाअनुसार यस पार्टीमा उनी आउने प्रचार गरेर अन्य धेरैलाई सहभागी हुन बोलाइएको थियो ।
आर्यनको गल्ती छैन : मानसिन्दे
आर्यनको केस हेरिरहेका वकिल सतिश मानसिन्देले उनलाई जमानतमा रिहा गर्नुपर्ने तर्क अदालतमा राखेका थिए । तर, आइतबार यस्तो हुन सकेन । ‘मेरा क्लाइन्टलाई आयोजकले बोलाएका थिए । उनीसँग क्रुजको टिकट पनि थिएन । उनीबाट केही बरामद पनि भएन ।
उनको मोबाइल फोनको पनि जाँच भइसकेको छ । त्यहाँ पनि केही भेटिएन,’ मानसिन्देले भने,‘न उनले ड्रग्स लिएका छन् । न उनीबाट केही बरामद नै भएको छ ।’
यसअघि हरिले एनसिबी कार्यालयमा झन्डै ४ घण्टासम्म आर्यनलाई सोधपुछ गरेको थियो । आर्यनसहित तीन आरोपीहरुलाई जेजे अस्पताल लगेर मेडिकल परीक्षण गरिएको थियो ।
प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार