कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने अभियानमा लाग्न माधव नेपालको अपिल


 


काठमाडौं, साउन १०
नेकपा (एकीकृत समाजवादी)ले मुलुक र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेको छ ।

पार्टीका अध्यक्ष माधव नेपालले निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

सो दलले कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरिएको जनाएको छ ।

नेकपा एमालेबाट अलग भएका नेताहरु सम्मिलित सो दलका तर्फबाट बुधबार निर्वाचन आयोगमा सनाखत गरिएपछि प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता सङ्घीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ ।

सनाखतमा सङ्घीय संसद्का ३४, नेकपा (एमाले)को केन्द्रीय कमिटीमा रहेका ५९ सदस्य निर्वाचन आयोगमा पुगेका थिए ।

यस्तो छ अपिल

हार्दिक अपिल !
कम्युनिष्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं । आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भयौं । अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिदै बिद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । अव यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षा अनुसार नेपाली कम्युनिष्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धीको आकांक्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं ।
२०७८ भाद्र ९ गते

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्