अन्तत: काँग्रेस महाधिवेशन सार्ने सहमति


 


काठमाडौं, साउन २८
नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।

महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक-फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए । यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने रिजालले बताए । बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ ।

यस्तै काँग्रेस वरिष्ठ पौडेलले असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुपर्ने बताए । क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर मात्र सोहीअनुसार नयाँ कार्यतालिका ल्याउनुपर्ने पौडेलले बताए । तर, महामन्त्री पूर्णबहादुर खड्काले भने विहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेस हुने बताए ।

खड्काका अनुसार निर्वाचन समितिले मागेको समय अनुसार कार्यतालिका हेरफेर हुन्छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सदस्यको सूची प्राप्त गरेको ५६ दिनमा वडा अधिवेशनदेखि महाधिवेशन गर्न सकिने रातोपाटीलाई बताए ।

उनका अनुसार केन्द्रीय समितिबाट अनुमोदन भएपछि निर्देशिका छापेर देशभर वितरण गर्नुपर्छ । निर्वाचन प्रतिनिधि खटाउँदा जनसंख्याका हिसाबले प्रतिनिधित्व हुने भनिए पनि त्यसको डाटा तयार हुन सकेको छैन । त्यसका लागि पार्टी विधानका केही बुँदामाथि बाधा अड्काउ फुकाउको निर्णय लिनुपर्नेछ । त्यसको मस्यौदा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । निर्वाचन समितिका अनुसार त्यो काम पनि हुन सकेको छैन । निर्वाचन समितिले विभिन्न प्रमाणपत्र र डकुमेन्टको व्यवस्थापन गरी छाप्ने काम हुन बाँकी छ ।

अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन । ७७ जिल्लाबाट प्रत्येक वडाका लागि मतदान अधिकृत तोक्ने काम बाँकी छ । आफूहरुले उक्त काम गर्न २० दिन समय चाहिने यादवले बताए । काँग्रेसको महाधिवेशनको तयारी र सरकारमा पठाउने मन्त्रीहरुका विषयमा छलफल गर्न बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

प्रकाशित मिति: २८ श्रावण २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्