बेलायतमा एकैदिन १६ हजार बढी कोरोना संक्रमित


 


लन्डन, असार १०
बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन्।

यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर उकालो लागेको हो ।

बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन । बुधबारको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार २७ पुगेको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रका अनुसार भने एक लाख ५३ हजार भन्दा बढीको मृत्यु भएको राष्ट्रिय तथ्यांकको कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्