तीन शीर्ष नेताबीच के-के भयाे छलफल ?


 


काठमाडौँ, १० कात्तिक

प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का तीन शीर्ष नेताबीच व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।

संविधान संशोधन नगरी संविधान कार्यान्वयन गर्न सजिलो छैन भन्ने विषयमा र संशोधनका लागि मधेस केन्द्रित दलसँग कुरा गर्नुपर्ने विषयमा छलफल भएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताए । बैठकमा महाअभियोगका सम्बन्धमा पनि छलफल भएको जानकारी दिँदै सभापति देउवाले भने, “महाअभियोगका सम्बन्धमा काँग्रेसले कुनै निर्णय गरिसकेको छैन ।

महाअभियोगको प्रस्ताव सम्बन्धीत समितिबाट प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने हाम्रो धारणा हो ।” बैठकमा सभापति देउवा र अध्यक्ष ओलीका साथै प्रधानमन्त्री एवम् (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए । गत साता माओवादी केन्द्र र एमालेका १५७ जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्