यस्तो छ माओवादी केन्द्रीय समिति बैठकले गरेको दुई आकस्मिक निर्णय
काठमाडौँ, असार ७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ । आज बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ ।
भर्चुअल विधिमा भएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको छ । स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो ।
यसअघि सो पार्टीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन । सोमबारको बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा पनि कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको माओवादीले जनाएको छ।
प्रकाशित मिति: ७ असार २०७८, सोमबार