एमालेले १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउने


 


काठमाडौँ, जेठ १२
नेकपा एमालेले आज थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।

नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरु १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भए अनुसार आज उनीहरुलाई पत्र पठाउन लागिएको नेकपा एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले बताए ।

स्थायी कमिटी बैठकले अस्ति निर्णय गरेको भए पनि २ दिनसम्म केही विषयमा छलफल भएको र सबैले पत्रमार्फत नै जवाफ पठाउँछु भनेपछि आज पत्र पठाउन लागिएको सचिव तामाङको भनाइ छ ।

थप स्पष्टीकरण सोध्ने निर्णय गरिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

स्थायी कमिटी बैठकले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीलगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको थियो । पार्टीभित्रको विवाद समाधानका लागि दुवै तर्फबाट ५र५ जना गरेर १० सदस्यीय कार्यदल बने पनि दुवै समूहले आफ्ना गतिविधि नरोक्दा नेकपा एमाले फुटको संघारमा पुगेको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्