नेपाल पक्षका युवा नेताद्वारा आयोगमा दल दर्ताको निवेदन दर्ता
काठमाडौं, जेठ ९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् ।
अनेरास्वयुका पूर्व नेता जीवन राईको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको राजनीतिक दल दर्ताका लागि निदेवन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । राई माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् ।
गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनकाअनुसार पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखतलगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको पुष्टि गरेका छन् ।
राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गरे । उनले पार्टीको चुनाव चिन्ह कलम छानेको बताए ।
प्रकाशित मिति: ९ जेष्ठ २०७८, आइतबार