विभाजनको डिलैमा एमाले, नेपाल–खनाल समूहले साँझसम्म कुर्ने


 



काठमाडौं, वैशाख २६
सत्तारुढ दल नेकपा एमाले विभाजनको अन्तिम बिन्दुमा पुगेको छ । आज दिनभरीमा अन्य कुनै सहमति हुन नसकेको खण्डमा पार्टी दुई टुक्रा हुँदैछ ।

आन्तरिक द्वन्द्वका कारण देखिएको विवाद मिलाउने प्रयास अन्तिमसम्म पनि सफल हुन नसकेपछि माधव नेपाल र झलनाथ खनाल पक्ष सामूहिक राजीनामाको तयारीमा रहेको छ ।

राजीनामाको लागि साँसदहरुले हस्ताक्षरहितको सूची नेतृत्वलाई बुझाइसकिएको बुझिएको छ । तर पनि नेपाल–खनाल पक्ष आज साँझसम्म सहमतिका लागि पर्खिने देखिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग आज पनि छलफल जारी राख्ने सो समूहका नेता भीम रावलले जानकारी दिए । २०७५ जेठ २ गतेमा फर्किर्नुपर्ने र ०७७ फागुन २८ यता भएका सबै निर्णय रद्द हुनुपर्ने माग दोहोर्‍याइरहेको छ ।

माग पूरा नभएको खण्डमा सामूहिक राजीनामा दिन्े तयारी भइसकेको नेता रावलले बताए । राजीनामाबारे थप छलफलका लागि आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको नेता रावलले बताए ।

यसअघि एमालेमा देखिएको विवाद मिलाउनका लागि दोस्रो तहका नेताहरुले विभिन्न चरणमा वार्ताहरु गरेपनि ठोस सहमति हुन सकेको थिएन ।

प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यसअघि नै राजीनामा गर्ने नेपाल–खनाल समूहको तयारी छ । अहिले पनि अल्पमतमा रहेका प्रधानमन्त्री ओली नेपाल–खनाल पक्षले राजीनामा दिएको खण्डमा पदमुक्त हुने सम्भावना बढ्नेछ ।

यता कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । यही अवस्थामा नेपाल–खनाल पक्षले राजीनामा दिए वैकल्पिक सरकार बन्ने सम्भावना बढ्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्