माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र


 


काठमाडौं, वैशाख २२
नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।

माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले आक्रोश पोखेको छ । संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादीको ठहर छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्