ओली–नेपाल वार्ता निष्कर्षविहीन: आ-आफ्नै अडान, आ-आफ्नै सुर


 


काठमाडौं, वैशाख १०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको दोस्रो छलफल बिना निष्कर्ष सकिएको छ । नागपोखरीस्थित होटेल मेरियटमा भएको आजको वार्ता निष्कर्षविहीन भएको स्रोतले जानकारी दिएको छ । वार्तामा दुवै नेता आ–आफ्नै अडानमा कायम राखेका छन् । बधबार पनि दुई नेताबीच मेरियटमा नै वार्ता भएको थियो ।

वरिष्ठ नेता नेपालले भने, ‘प्रगति केही भएको छैन’

एमाले वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको भेटमा पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति हुन नसकेको बताएका छन् ।

वार्ता सकिएपछि संक्षिप्त कुराकानी गर्दै नेपालले पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस प्रगति हुन नसकेको बताएका हुन् । ‘बैठक यथास्थितिमै भयो । प्रगति केही भएको छैन,’ उनले भने , ‘विवाद समाधान गर्ने विषयमा कुराकानी अघि बढ्न सकेन ।’
उनले अनुसार प्रधानमन्त्री ओली र आफूबीच फेरि छलफल गर्ने कुराकानी भएको जानकारी दिए । २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ ।

विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउने कसरत भए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण संकटको गाँठो झनै कसिएको छ। बुधबारको भेटघाटलाई बिहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन।

बुधबार दुवै नेता लचिलो देखिए पनि बिहीबार बिहानैदेखि वातावरण बिग्रिएपछि दिउँसोको वार्ता फलदायी हुन नसकेको हो। बुधबार ओलीसँग नेपालले २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काएर सबैलाई समेट्ने वातावरण तयार गर्न, माओवादीबाट आएका नेताको व्यवस्थापनका लागि वातावरण बनाउन र भेटघाटलाई निरन्तरता दिन प्रस्ताव राखेका थिए। ओलीले पनि जेठ २ को अवस्थामा फर्कन आफू तयार भएको संकेत गरेका थिए। त्यसपछि उनीहरूबीच बिहीबार पनि छलफल गर्ने योजना बनेको थियो। तर बिहीबार बिहान ओलीले माधव नेपालले पार्टी विभाजन गरिसकेको, अर्को पार्टी खोलेर हिँड्दा पनि आफूले सम्झाइबुझाइ गरेको जस्ता अभिव्यक्ति दिएपछि वातावरण बिग्रिन पुग्यो।

बिहीबारको वार्तामा नेता नेपालले एमालेको पुरानै संरचनाको बैठक बसेर एकीकरणपूर्वको अवस्थाबाटै थप निर्णय गर्न प्रस्ताव राखेका थिए। ओलीले नेपालको प्रस्ताव अस्वीकार गर्दै फागुन २८ गतेको निर्णय मान्न आग्रह गरे। ‘फागुन २८ गतेका निर्णय मानेर जानुपर्ने भनेपछि अन्य विषयमा प्रवेश गर्ने कुरै भएन,’ वार्तापछि नेपालले आफूनिकटका नेतालाई जानकारी दिँदै भने, ‘ओलीले अझ बिहीबार जुन अभिव्यक्ति दिए, त्यो निकै आपत्तिजनक थियो।

पार्टी विभाजन गर्ने भनिएको पनि छैन, नयाँ दल खोल्ने कुरा पनि छैन तर ओलीले नयाँ दल खोल्न लागेको भनेर प्रचार गरे। त्यसले पार्टी मिलाउनेभन्दा पनि राजनीतिक चालबाजीमात्रै देखियो।’ ओलीको बिहीबारको अभिव्यक्तिबाट उनी विवाद मिलाउन चाहँदैनन् वा उनको नजिक रहेका व्यक्तिहरू पार्टी मिल्नु हुँदैन भन्ने पक्षमा छन् भन्ने संकेत मिलेको बताउँदै नेपालले आफूनिकटका नेताहरूलाई ब्रिफिङ गरे, ‘यसकारण आजको बैठक उपलब्धिमूलक हुन सकेन।’

प्रकाशित मिति: १० बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्