कर्णाली प्रदेशकै अवस्था देशैभर दोहोरिन सक्छ : डा. रावल


 



धनगढी, वैशाख ४
नेकपा एमालेका नेता डा. भीम रावलले कर्णाली प्रदेशको जस्तै राजनीतिक अवस्था देशैभर दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशद्वारा शनिबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले कर्णालीको पछिल्लो राजनीतिक घटना प्रधानमन्त्री ओलीको कदमविरुद्ध भएको बताए ।

आवश्यक परे अरु प्रदेशमा पनि कर्णाली प्रदेशकै अवस्था सृजना हुने भन्दै उनले भने, ‘राष्ट्रिय एकता र स्वाधिनताका लागि पार्टीको ह्वीपको कुनै अर्थ छैन ।’

उनले कर्णाली प्रदेशमा प्रधानमन्त्री ओलीले केही समय पहिले नै प्रमुख सचेतकलाई हटाउन लगाएर विवादको बिउँ रोपेका कारण अहिलेको स्थिति उत्पन्न भएको बताए । ‘ओलीले पहिलै बिउँ रोपे,’ उनले भने, ‘अहिले सो बिउँ उम्रियो र त्यसैले यस्तो फल दिएको हो ।’ उनले कर्णालीका नेताहरू आफ्नो स्वार्थ भन्दा पनि प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध एक भएको बताए ।

डा. रावलले ओली समूहले सुदूरपश्चिमबाट आफूसहित माधव समूहलाई हराउन खोज्नु सपना मात्रै भएको बताएका छन् । भर्खरै सकिएको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा पनि २५ जनामध्ये १८ जना माधव समूहमै रहेको उनले बताए ।

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्