नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जना जेष्ठ नागरिकको मृत्यु, अनुसन्धान हुँदै
काठमाडौं, चैत्र २२
नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएको छ । उनीहरूको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ ।
खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा। धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो ।
डा। अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।
तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ ।
नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।
प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार