सरकार र थरुहट थारुवान संघर्ष समितिबीचको वार्ता सकारत्मक


 



काठमाडौं, चैत्र १७
सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको वार्ता सकारात्मक भएको छ । मंगलबारको वार्ता बिहीबार फेरि बस्ने गरी टुंगिएको छ ।

संघर्ष समितिका मागपत्रबारे मंगलबार र बुधबार अध्ययन गर्ने र बिहीबार फेरि वार्तामा बस्ने गरी वार्ता टुंगिएको हो । यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीहरुले जनाएका छन् ।

गृह मन्त्रालयमा मंगलबार दिउँसो दुई पक्षबीच वार्ता भएको थियो । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मंगलबार बिहान पाँच सदस्यीय वार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी छिन् । महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी वार्ता टोलीको सदस्यमा छन् ।

सरकारको पक्षबाट सोमबार नै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन् ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्