सत्ता समीकरणका लागि जसपाको यस्तो शर्त, कस्ले गर्ला पूरा ?


 



काठमाडौं, फागुन २८
टीकापुर हत्याकाण्डको मुद्दामा जेल जीवन विताइरहेका रेशम चौधरीको रिहाई गर्नुपर्ने माग गर्दै उनी आबद्ध दलले विभिन्न पटक सरकारसंग माग अघि सार्दै आएको छ ।

कुनै सहमति गर्दा होस् वा सत्ता साझेदारका क्रममा सरकारसंग पटक–पटक चौधरीको रिहाईको माग पुग्दै आएको छ । तर सरकारले उक्त माग अहिलेसम्म पूरा गर्न सकेको छैन । सरकारको नेतृत्व गर्ने दलले रेशमलाई रिहाई गर्ने आश्वासन दिएर उनी आबद्ध दलबाट पटक–पटक फाइदा भने लिइरहेकै छन् ।

अहिले पनि फेरि सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलले रेशम चौधरी आवद्ध दल जनता समाजबादी पार्टी ९जसपा०लाई प्रयोग गर्न खोजिरहेको छन् । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र प्रतिपक्षमा रहेको माओबादी केन्द्रले जसपालाई सत्ता समीकरणका लागि मनाइरहेका छन् ।

यही मौकामा जसपाले पनि जसले आफ्ना मागहरु पूरा गर्छ उसैलाई सहयोग गर्ने बताइरहेको छ । यसको अर्थ जसपाले अहिले पनि रेशम चौधरीलगायत टीकापुर हत्या काण्डको मुद्दा लागेकाहरूको रिहाई, संविधान संशोधनलगायतका माग पूरा गर्नुपर्ने मागहरु अघि सारेको छ ।

यसैक्रममा जसपा पनि प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रसंग छलफलमा सामेल भइरहेको छ । यद्यपि कसले माग पूरा गर्छ र कसलाई सहयोग गर्न सकिन्छ भने धारणा जसपाले सार्वजनिक गरिसकेको छैन । विहीबार पनि सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको बताएको छ ।

जसपा नेताहरु चौधरीको रिहाइलगायतको विषयमा छलफल गर्न बालुवाटारमै पुगेका थिए । जसपाले भनेअनुसार माग पूरा भएमा सत्ता समीकरण बन्ने र रेशम चौधरी रिहाई हुने सम्भावना रहेको जसपाका नेताहरु बताउँछन् ।

टीकापुर घटनामा संलग्न चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले पुस २ गते जन्मकैदको फैसला सुनाएको थियो । २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाइ नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतले तीमध्ये सात जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ । जसपाले टीकापुर घटना राजनीतिक विषय भएको हुँदा चौधरीको रिहाइ हुनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्