प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै, ७ वटा अध्यादेश पेश गरिने


 



काठमाडौं, फागुन २६
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने संघीय संसद सचिवालयको महासचिवमा भरतराज गौतमले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशहरू जारी गरेकी हुन्। कार्यसूचीमा रहेका अध्यादेशहरू जारी भएको ६ महिनाभित्र प्रतिनिधिसभाबाट पारित हुनुपर्ने पर्ने प्रावधान छ।

बैठकमा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ। सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेस हुने संसद सचिवालयले जनाएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनर्स्थापित गरेपछि पहिलो बैठक फागुन २३ गते बैठक बसेको थियो। 

नेकपाको प्रचण्ड-नेपाल समूहको तर्फबाट सांसद् भीम रावलले बोलेपछि प्रचण्ड-नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका थिए। लगत्तै कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै बैठकमा आपत्ति जनाएको हो।

बैठकमा असंवैधानिक ढंगले सरकार अगाडि बढेको भन्दै कांग्रेस सांसद पुष्पा भुसालले आपत्ति जनाएकी थिइन्। सांसद् भुसालले बोलेपछि कांग्रेस सांसद नाराबाजी गर्न वेलमा पुगेका थिए। कांग्रेस सांसदको नाराबाजी चर्किएपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरे। १० मिनेटका लागि स्थगित भनिएको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन्। 

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्