प्रचण्ड र माधव फर्के आ-आफ्नै घर, गरे बिदाई बैठकमा यस्तो निर्णय


 



काठमाडौं, फागुन २५
सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधव पक्ष आ-आफ्नै दलमा फर्किने निर्णय गरेका छन्।

सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। अब माधव नेपाल र झलनाथ खनाललगायतका तत्कालीन एमालेका नेताहरू एमालेमै फर्किने भएका छन् भने प्रचण्डहरू पेरिसडाँडामै रहने भएका छन्। आ-आफ्नो घर फर्किने भन्दै उनीहरू पेरिसडाँडाको बैठकबाट बिदा भएका थिए। 

सर्वोच्च अदालतले नेकपा आधिकारिकता विवादको मुद्दामा आइतबार फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिदै एमाले र माओवादी केन्द्र व्युँताउने फैसला गरेको थियो। त्यो फैसलापछि अलगअलग हुने निर्णय गरेका हुन्।

पेरिसडाँडामा बैठकपछि सञ्चारकर्मीसँग वरिष्ठ नेता झलनाथ खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग हिँड्ने प्रतिक्रिया दिएका छन्। उनले सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्नुका साथै पार्टीभित्र संघर्ष गर्ने दाबी गरे ।

प्रचण्ड–माधव समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले अदालतको फैसला रिट निवेदन भन्दा बाहिर गएर फैसला गरेको प्रतिक्रिया दिए। उनले नयाँ ढंगले पार्टी एकीकरणको पहल हुने र सर्वोच्चको फैसला कार्यान्वयनको प्रक्रिया अन्तरगत माओवादी केन्द्र र एमाले अलग भएको बताए।

सर्वोच्च अदालतको आदेशपछि ओली निकटका नेताहरुले फैसलाको स्वागत गरेपछि प्रचण्ड-माधव पक्ष संकटमा परेको थियो। बैठकमा नेताहरुले पार्टी एकतालाई नयाँ शिराबाट छलफल सुरू गर्नुपर्ने धारणा राखेका छन्। 

यस अगाडि स्थायी कमिटी बैठकबाट बाहिरिदै गर्दा तत्कालीन एमाले एवम् प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले एकतालाई जोगाउन अध्यक्ष कमरेड प्रचण्ड र ओलीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्ने प्रतिक्रिया दिएका थिए। उनले बैठकमा एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गर्नुपर्ने धारणा राखेको बताए। अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्